थाहाको एसइईको नतिजामा सुधार, सामुदायिक तर्फ वज्रबाराही उत्कृष्ट

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १९ गते । मकवानपुरको थाहा नगरपालिकाको २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ ।
नगरपालिकाभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुबाट एसईईमा ४४.२९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् ११ कक्षा अध्ययन गर्न योग्य भएका छन् ।
गत शुक्रबार सार्वजनिकभएको एसइईको नतिजा अनुसार नगरपालिका क्षेत्रमा रहेका छ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालयबाट ४९५ जना विद्यार्थीले परीक्षा दिएकोमा २१७ जना २०८१ को परीक्षामा ग्रेडेड (उत्तीर्ण) भएका हुन् ।

सामुदायिक विद्यालयतर्फ नगरमा वज्रवाराही माध्यामिक विद्यालय उत्कृष्ट बनेको छ ।
२०८० को तुलनामा २०८१ को एसइईको नतिजामा सुधार देखिएको छ ।
२०८० को परीक्षामा २७.३६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । २०८० को एसइईमा यस नगरपालिकाका प्राविधिक धारसहित संस्थागत र सामुदायिक विद्यालय गरी १७ विद्यालयबाट ५४१ परीक्षार्थीले परीक्षा दिएकोमा १४८ परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए ।
थाहा नगरको २०८० को तुलनामा २०८१ को एसइईको नतिजामा सुधार आउँदा सामुदायिक विद्यालयहरुको नतिजामा पनि सुधार आएको छ ।
सामुदायिक विद्यालयतर्फ २०८१ को एसइईमा सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दै थाहा नगरपालिका ६ वज्रवाराही, थहचोकस्थित वज्रवाराही माविले उल्लेख्य सुधार गरेको छ ।
उक्त विद्यालयबाट २०८१ को एसइईमा २३ जना सहभागी भएकोमा ६५.२२ प्रतिशत अर्थात् १५ जना ग्रेडेड हुँदै ११ कक्षा अध्ययनका लागि योग्य भएका छन् । २०८० को एसइईमा ३६ जना सहभागी भएकोमा सात जनामात्र उत्तीर्णभएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम जोशीले विद्यार्थी र शिक्षकको मेहनतसँगै अभिभावक र जनप्रतिनिधिसमेतको सहयोगमा परीक्षाको नतिजामा सुधार आएको जानकारी दिनुभयो । यो पर्याप्त होइन, विद्यार्थीको उत्कृष्ट सिकाई र नतिजाका लागि साझा प्रयास गरिएको छ अध्यक्ष जोशीले भन्नुभयो हामीले थप मेहनत गर्नु आवश्यक छ ।
विद्यालयका सहायक प्रधानाध्यापक सन्चिता पाठकले विद्यालयमा राखेर अतिरिक्त अध्यापनसँगै नियमित निगरानीले नतिजामा सुधार आएको बताउनुभयो । नेपाली विषयका शिक्षिका प्रतिमा ज्ञवाली र विज्ञान विषयका शिक्षिका बिना ढकालको परीक्षा अघि एक महिनासम्मको मेहनतले पनि विद्यार्थीको सुकाईमा सुधारसँगै नतिजामा सुधार आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
अध्यक्ष जोशीले एइई ग्रेडवृद्धिका लागि विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गरिने बताउनुभयो ।
यसैबिच विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले आगामी वर्षको एइई नतिजा सुधारका लागि थप प्रयास भईरहेको भन्दै कक्षा ११ का लागि व्यवस्थापन र शिक्षा विषयमा अध्यापनका लागि भर्ना सुरुभएको बताउनुभयो ।

यस्तै, २०८१ सालको परीक्षामा थाहा नगरपालिकाकै सुन्दरीदेवी माविका साधारण धारतर्फबाट १९ जना विद्यार्थीले एसईई दिएकोमा सबै अनुत्तीर्ण भएका छन् । सुन्दरीदेवीबाट १७ जनाले प्राविधिक धारतर्फको परीक्षा दिएकोमा एकजना मात्र उत्तीर्ण भए ।
झम्केश्वरी माविबाट एसईई दिएका २७ जना विद्यार्थीमध्ये १५, मत्स्यनारायण माविबाट परीक्षा दिएका ३२ मध्ये १४, सुनौला माविबाट २१ जनाले परीक्षा दिएकोमा नौ जना र स्वच्छन्दभैरब माविबाट परीक्षा दिएका २६ जना विद्यार्थीमध्ये १० जना उत्तीर्ण भएका छन् । यस्तै एसइईमा जनकल्याण माविको प्राविधिक धारका १६ जनामध्ये छ जना र साधारण धारका ४१ जनामध्ये १३ जना, इन्द्रायणी मावि र नाटेश्वर माविका २६–२६ जना सहभागी भएकामध्ये नौ–नौ जना विद्यार्थी ग्रेडेड भई ११ कक्षा अध्ययन गर्न योग्यभएका हुन् ।
यसैगरी सरस्वती माविबाट एसइई दिएका २६ जना विद्यार्थीमध्ये सात र बागेश्वरी माविका ६९ जनामध्ये १५ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

साथै एसइईमा सहभागी थाहा नगरपालिकाको पालुङ मोर्डन इङ्लिस स्कूलका चार जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका छन् ।
पालुङ भ्याली हार्ट एकेडेमीका २० जनामध्ये १७, एवन इङ्लिस बोर्डिङ स्कूलबाट २० जनामध्ये १५, हिमालयन इङ्लिस स्कूलका ४२ जनामध्ये ३१, पालुङ आवासीय माविका १४ जनामध्ये १० र सरस्वती विद्या मन्दिरका ३० जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

ताजा समाचार

Related Articles