खासकुरा संवाददाता
हेटौँडा, असार २२ गते । बागमती प्रदेशमा प्रदेश सरकारको बजेटमा नौलो अभ्यासको थालनी भएको छ । प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलको विरोध र सत्ता पक्षकै प्रदेश सभा सदस्यहरुको असन्तुष्टिपछि शून्य बजेटका योजना र कार्यक्रमहरु थप गरिने भएको छ ।

बजेटमा बेथिती भएको भन्दै विरोध जनाउँदै आएका नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दल र सत्ता पक्षकै असन्तुष्ट प्रदेश सभा सदस्यहरुलाई भागबण्डा मिलाउन शून्य बजेटका झण्डै १६ सय कार्यक्रम र योजना थपिने भएको हो ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले असार १ गते प्रदेश सभामा पेस भएको विनियोजन विधेयकमा बागमती प्रदेशभित्र थप भएका विभिन्न कार्यक्रमहरु प्रस्तावित विनियोजन विधेयकको अंग बनोस भन्दै पेस गर्नुभएको थियो । विनियोजन विधेयकमा प्रस्तावित कार्यक्रमको अनुसूचीमा रकम उल्लेख गर्ने प्रचलन भए पनि विवाद मिलाउन भन्दै प्रदेश सभा सदस्यहरुले दिएर थप गरिएका कार्यक्रमहरुमा भने रकम उल्लेख गरिएको छैन र खाली राखिएको छ । प्रदेश सभामा शनिबार पेस भएको सबै कार्यक्रममा कार्यक्रमको बजेटको रकम उल्लेख नभएको र शून्य रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयको अनुसार छुट भएका कार्यक्रमहरुको प्रस्ताव मात्र प्रदेश सभामा दर्ता भएको छ ।
आफ्ना छुटेका योजना र कार्यक्रमहरु पुरक अनुमान प्रस्ताव ल्याएर संवोधन गर्नुपर्ने मागसहित नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले पुरक अनुमान ल्याउन माग गरेपछि सहमति जुट्न ढिलाई हुँदा शनिबारको प्रदेश सभाको बैठक बस्ने समय पटक पटक परिवर्तन भएको थियो ।
मन्त्री काफ्ले पुरक अनुमानको विपक्षमा र माओवादी केन्द्रलगायतका दलहरु पुरक अनुमान ल्याउनु पर्ने अडानमा रहेका थिए ।

प्रस्तावित विनियोजन विधेयकमा प्रदेशभित्रका थप भएका विभिन्न कार्यक्रमहरुको विवरण मन्त्री काफ्ले पेस नगरेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभा बैठकमा पेस गर्नुभएको थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रस्तावित विनियोजन विधेयकमा छुट भएका करिब १६ सय योजना थप गर्ने गरी प्रस्ताव पेस भएको जानकारी दिनुभयो । थप भएका कार्यक्रम र योजना शून्य रकम राखेर पेस भएका छन् उहाँले भन्नुभयो, पुरक अनुमान भनेर त प्रस्ताव गरिएको छैन तर प्रस्तावित विनियोजन विधेयकमा छुट भएका योजना थप भएको छ । उहाँले अगाडि भन्नुभयो, ती थप गरिने कार्यक्रम र योजनामा अहिले रकम राखिएको छैन, पछि आवश्यकता अनुसार राख्न सकिन्छ ।
उता मन्त्री लामिछानेले विनियोजन विधेयकमा रहेका दोहोरिएका, कार्यान्वयन हुन नसक्ने र अनावश्यक योजनाहरु हटाएर ती योजनाका बजेट पछि थप प्रस्ताव भएका कार्यक्रम र योजनामा रकमान्तर गरी कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय पजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट निर्माणको सन्दर्भमा बागमती प्रदेश सरकारले गम्भिर नीतिगत त्रुटि गरेको भन्दै बजेटप्रति विरोध जनाएका थिए ।
बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, विभेदकारी र सेटिङ्गमा आधारित बजेट सच्याएर मात्र यस समस्याको हल गर्न सकिने बताउँदै तीन दलले सरकारसँग माग गर्दै आएका छन् ।




