विनियोजन विधेयकमाथिको छलफल जारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २२ गते । बागमती प्रदेश सरकारको आगामी आव २०८२÷०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।
प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरु, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको एकमुष्ट छलफल सोमबारसम्म चल्नेभएको छ ।

विनियोजन विधेयकमाथिको आइतबार भएको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनालले बजेट निर्माणमा नीतिगत निर्णय आवश्यक भएको बताउनुभयो । उहाँले बजेट निर्माणमा प्रदेश सभाका सदस्यभन्दा कर्मचारी बढी हावी हुँदा समस्या भएको धारणा व्यक्त गर्नुभयो ।
प्रदेश सभा सदस्य भारती पाठकले बजेटमा कतिपय सकारात्मक विषय समेटिएको भन्दै बजेट पुनर्लेखनको कुरा उठेको छ तर त्यो कार्यान्वयन हुन्छ हुँदैन प्रश्न गर्नुभयो ।
प्रदेश सभा सदस्य मायादेवी शर्माले समयमा बजेट नआएको र राम्रो बजेट आउने अपेक्षा गरिए पनि त्यो नभएको बताउनुभयो ।

प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले बजेट कमिसन खाएर बिक्री गरेको आरोप लगाउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य ताराचन्द्र श्रेष्ठले अघिल्लो बजेटमा सबैभन्दा बढी रोष प्रकट गर्ने अहिलेका अर्थमन्त्रीले बजेटमा विभेद गरिएको बताउनुभयो ।
प्रदेश सभा सदस्य पुकार महर्जनले यो बजेटको उद्देश्य पनि छैन त्यसैले यो बजेटले प्रदेशलाई समृद्ध बनाउन नसक्ने आफ्नो निस्कर्ष रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य सिर्जना सायजुले बजेट विनियोजनले आर्थिक भ्रष्ट्राचारको आधार निर्माण धारणा राख्नुभयो ।
यसैगरी प्रदेश सभा सदस्य कुमारी तामाङले बजेटप्रति विरोध जनाउँदै आफूलाई दिएको समयभर मौन बस्नुभयो ।

प्रदेश सभा सदस्य ठुला थामीले बजेट निर्माणमा पहिलेदेखि नै समस्या रहेको भन्दै यसमा सुधार आवश्यक भएको बताउनुभयो । प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले मुख्यमन्त्री र अर्थमन्त्रीको क्षेत्रका बहुवर्षीय योजना थुप्रिएको र अन्य क्षेत्रमा सिलो खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रदेश सभा सदस्य सुना परियारले बजेट समावेशितामा बजेट कमजोर र सामाजिक क्षेत्रलाई उपेक्षा गरेर आएको बताउनुभयो । प्रदेश सभा सदस्य प्रभात तामाङले बजेट भनेको गणित होइन भन्दै भौतिक पूर्वाधार मन्त्रालयले तार्केश्वर नगरपालिकामा ७६ करोड ४४ लाख ६० हजार विनियोजन गरेको र रसुवामा ४७ करोड २५ लाख विनियोजन गरेर विभेद गरिएको बताउनुभयो । प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले यो बजेटबाट भ्रष्ट्राचारलाई संस्थागत सहयोग पुग्ने भन्दै दुई ठुला दल मिलेर पनि सुशासन दिन नसकेको बताउनुभयो । प्रदेश सभा सदस्य श्रीराम लामिछानेले झ्यालबाट बजेट ल्याउने काम भएको भनाई राख्नुभयो ।

प्रदेश सभा सदस्यहरु राजेन्द्र मान श्रेष्ठ, ईश्वर सापकोटा, विन्दु श्रेष्ठ, केशवप्रसाद पोखरेल, गंगानारायण श्रेष्ठ, आशा लामा, ईन्द्रप्रसाद गोतामे, बालकुमारी विश्वकर्मा, कुमारी मुक्तान, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, मसिना खड्का भण्डारी, राधिका तामाङ, जयराम थापा, मातृकाप्रसाद भट्टराई, शकुन्तला श्रेष्ठ, शुष्पा भुजेल न्यौपाने, उर्मिला सुनुवारलगायतले टुक्रे बजेट, अधिक संख्यामा तालिम राखिएको, सडकका बहुवर्षीय योजना कटौतीभएको, बजेट समावेशी र समानुपातिक नभएको बताउनुभयो ।
प्रदेश सभाको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बागमती प्रदेश सरकारको आगामी आव २०८२÷०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सोमबार नै प्रदेश सभाबाट पारित गर्ने गरी तयारी गरिएको छ ।

ताजा समाचार

Related Articles