हेटौँडा, असार २७ गते । मकवानपुरको विकट बस्ती काँकडालाई लक्षित गरी एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । तामाङ र सीमान्तीकृत चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाका विकट बस्तीलाई लक्षित गरी एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । एम्बुलेन्स सेवाबाट राक्सिराङ गाउँपालिका-६, ७ र ८ का बासिन्दा लाभान्वित हुने छन् ।

काँकडा स्वास्थ्य चौकीका लागि एम्बुलेन्स स्वरिद गर्न राक्सिराङ गाउँपालिका र इस्थर बेन्जामिन स्मृति संस्थाबिच सम्झौता गरिएको छ। एम्बुलेन्स सेवा उपलब्ध भएपछि स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक विजयकुमार कापरीले राक्सिराङ ६ अन्तर्गत काँकडा स्वास्थ्य चौकीमार्फत प्रदान गरिने स्वास्थ्य तथा प्रसूति सेवालाई सहज बनाउन काँकडा स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्न लागेको जानकारी दिनुभयो । २५ लाख रुपियाँको लागतमा खरिद गरिने एम्बुलेन्सको लागत खर्च इस्थर बेन्जामिन स्मृति संस्थाले बेहोर्ने गरी सम्झौता भएको छ । काँकडा स्वास्थ्य चौकीलाई स्वास्थ्य सेवा तथा प्रसूति सेवालाई सहजता पुर्याउन काँकडा स्वास्थ्य चौकीको एम्बुलेन्स स्वरिद गर्न राक्सिराङ गाउँपालिका र इस्थर बेन्जामिन स्मृति संस्थाबिच सम्झौता भएको स्वास्थ्य शाखाका संयोजक कापरीले बताउनुभयो ।

सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल र ईस्थर बेन्जामिन स्मृति संस्थाका प्रतिनिधि बुद्धवीर लामा वाईबाले हस्ताक्षर गर्नुभएको छ । गाउँपालिका अध्यक्ष मल्लका अनुसार एम्बुलेन्स सेवा उपलब्ध भएपछि अहिले चेपाङ समुदायका आमा र शिशुको मृत्यु दर कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




