हेटौँडा, असार २७ गते । बागमती प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ खर्च गर्ने क्षमतामा सुधार आएको छ । चालु आवको असार २५ गतेसम्ममा प्रदेश सरकारले कुल विनियोजित बजेटको ७४ प्रतिशतभन्दा बढी खर्च गरेको छ ।

बागमती प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक खर्च विवरण अनुसार प्रदेश सरकारले चालु आवका लागि कुल ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट विनियोजन भएकामा ७४.०६ प्रतिशत अर्थात् ४७ अर्ब ७९ करोड ५६ लाख ६६ हजार ४७८ रुपियाँ खर्च गरेको हो ।
आव २०८०/८१ मा ६२ अर्ब ९० करोड ७८ लाख रुपियाँ विनियोजन भएकामा ७०.९८ प्रतिशत अर्थात् ४४ अर्ब ५१ करोड रुपियाँ खर्च भएको थियो ।

चालु आवमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालय, प्रदेश व्यवस्थापिका र निकायका लागि विनियोजित बजेटको चालु खर्चतर्फ ७१.५१ प्रतिशत अर्थात् १८ अर्ब ३९ करोड ५३ लाख ६२ हजार ५९३ र पुँजीगततर्फ ७८-७९ प्रतिशत अर्थात् २९ अर्ब ४० करोड तीन लाख तीन हजार ८८५ रुपियाँ खर्च भएको छ ।
प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड ४९ लाख ५९ हजार र पुँजीगततर्फ चालु आवमा ३७ अर्ब ३१ करोड ५४ लाख ७१ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले गत आवमा भन्दा प्रदेश सरकारको खर्च गर्ने क्षमता सुधारसँगै खर्च प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो । उहाँले राजनीतिक स्थायित्वका कारण पनि खर्चमा सुधार आएको बताउँदै अहिले देखिएको खर्चमा केही कमी आउने आकलन गरिएको बताउनुभयो ।

यसअघि चालु आवको गत जेठ मसान्तसम्ममा कूल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ मात्र खर्चभएको थियो । असारको २५ दिनमा मात्र १६ अर्ब ३७ करोड ६० लाख रुपियाँभन्दा बढी खर्चभएको छ । उहाँले भन्नुभयो, स्थानीय तहमा गएका केही अनुदान फिर्ता आउने सम्भावना हुन्छ त्यसले अहिले देखिएको खर्चमा केही कमी आउने छ । प्रारम्भिक विवरण अनुसार चालु आवमा करिब १६ अर्ब ७४ करोड रुपियाँभन्दा बढी चालु आवमा खर्च नभएको देखिन्छ ।




