काठमाडौँ महानगरको आगामी आवका लागि करिब २५ अर्ब बजेटको सिमा निर्धारण

लोकप्रिय

काठमाडौं, असार २७ गते । काठमाडौं महानगरपालिका स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकालाई प्राप्त हुने आन्तरिक  आय, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम,अनुदान, ऋण र अन्य आयको प्रक्षेपण सहित बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड  बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

यस्तै शुक्रवार नै उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा  बसेको राजश्व परामर्श समितिको बैठकले  आर्थिक वर्ष २०८१/८२ मा प्रक्षेपण गरिएको कुल राजश्व मध्ये चालु आर्थिक वर्ष ८१/८२ मा असार २६ गतेसम्म सङ्कलन भएको राजश्वको असुलीको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल आम्दानी प्रक्षेपण गरेको थियो । नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नु हुने छ । बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles