हेटौँडा, असार २८ गते । .मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित पुलचोक बेलुवा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोक बेलुवा सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ३७ प ७६९० न.को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश३–०३–००१प४४३४ नं.मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
बिहीबार भएको उक्त दुर्घटनामा घाइते हुनेमा ना ३७ प ७६९० नम्बरको मोटरसाइकलका चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ केराबारीका वर्ष १८ को दीपक दोङ, मोटरसाइकल पछाडि सवार राक्सिराङ गापा वडा नं. १ ढुंगेनका वर्ष २४ का पिटर तामाङ र प्रदेश ३–०३–००१ प ४४३४ न.को मोटरसाइकलका चालक मकवानपुर मनहरी गापा ६ बिजौनाका वर्ष २४ का निरज राना प्रजा रहेका छन् ।

प्रदेश ३–०३–००१ प ४४३४ न.को मोटरसाइकल पछाडि सवार मनहरी ७ बिजौना बस्ने वर्ष २४ को विसाल प्रजाको टाउकोमा चोट लागेर अवस्था गम्भीर भएपछि थप उपचारको लागि चितवन तर्फ पठाईएकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शुक्रबार २१ः३० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
