हेटौँडा, असार ३१ गते । श्री कृष्ण प्रणामी हिन्दु समाज, टेक्सासको आयोजनामा अमेरिकाको ड्यालसमा भानु जयन्तीको अवसरमा मकवानपुरे कथाकार श्यामप्रसाद श्रेष्ठको कथा सङ्ग्रह “कठै” को सार्वजनिक र कथा सङ्ग्रहमाथि चर्चा गरिएको छ ।
कार्यक्रममा आयोजक संस्थाको निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो।

यस्तै लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लघुकथाको विकासमा संस्थाले खेलेको भूमिका र लघुकथा लेखनबारे धारणा राख्नुभएको कार्यक्रममा लघुकथा लेखक विवेक शर्मा गौतमले लघुकथा वाचन गर्नुभएको थियो । गजलकार डा .सुनिल खनालले गजल र कवि सुवास दंगाल र सागर खतिवडाले कविता वाचन गर्नुभएको सो कार्यक्रममा राजेन्द्र वाग्ले, नुरनाथ सुवेदी र कृतिकार श्यामप्रसाद श्रेष्ठलगायतले कथाका बारेमा बोल्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एनसिआइसीका कोषाध्यक्ष दिनेश न्यौपाने, एनसिआइसीका सल्लाहकार भुवन आचार्य, एभरेष्ट क्रेडिट्युनियनको डाइरेक्टर डा. मिलन पौडेल, डिएफडब्लुएसकेपिएच एसटीको बोर्ड अफ ट्रस्टीका अध्यक्ष नुरनाथ सुबेदी, लघुकथा लेखक विवेक शर्मा गौतम, गीतकार तथा कवि भीम खरेल, मीना गौतमलगायतको सहभागिता भएको थियो।

कथासङ्ग्रह ”कठै !” मा कथाकार श्रेष्ठले विभिन्न विषयहरुमा केन्द्रीत भएर लेखेका १३ वटा कथाहरु : त्यो रात, विलीन जीवन, बिदा, आत्मबल, आत्मा निवास, झरेको कोपिला, वेदनाको अन्त्य, राजनेता, म बाँच्न चाहन्छु, शुभकामना, दह्रो खाम, सपना र मुक्तिको सपना समेटिएका छन्। कथाकार श्रेष्ठको पहिलो साहित्यिक कृति होसियार’ र ‘अभियान’ नाटकहरु हुन्।
