हेटौँडा, असार ३२ गते। जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतले चालु आवमा दुई हजार ७३९ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी अर्थात् दुई हजार ८८६ मुद्दा फर्छ्यौट गरेको हो ।
अदालतकी श्रेस्तेदार रोशी भण्डारीले जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५५३ गरी कुल ४ हजार १५० मुद्दा रहेका जानकारी दिनुभयो ।

ती मध्ये चालू आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले लगतको आधारमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ भने लक्ष्यको आधारमा १०४ दशमलव ७१ प्रतिशत रहेको जानकारी गराइएको छ । श्रेस्तेदार भण्डारीका अनुसार, अब १ हजार २८२ मुद्दा फर्छ्यौट हुन बाँकी छ । ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र दुई वर्ष नाघेका दुई वटा मुद्दा छन् ।

बाल इजलासमा ९४ मुद्दामध्ये ७० मुद्दा फर्छ्यौट भएका छन् । कसुरजन्य अपराधमा असुल गर्नुपर्ने क्षतिपूर्ति रकम १ करोड ६६ लाख रहेकोमा अदालतले १ करोड ५४ लाख भराएको छ । २७ जना पीडितले क्षतिपूर्ति उपलब्ध गराइदिन निवेदन दिएकामा १८ जनालाई पीडित राहत कोषबाट १ करोड १५ लाख क्षतिपूर्ति प्रदान गरिएको श्रेष्तेदार भण्डारीले बताउनुभयो । पिडकबाट ३८ लाख २० हजार क्षतिपूर्ति दिलाइएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईले जिल्ला अदालत मकवानपुरमा लागू औषध, सम्बन्ध विच्छेद, चेक अनादर लगायतका मुद्दा बढी आउने गरेको बताउनुभयो ।
