हेटौँडा, साउन ८ गते । मकवानपुरको मनहरी गाउँपालिकाले कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाली बिमा कार्यक्रमको औपचारिक थालनी गरेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले धान बालीबाट सुरु गरिएको यो कार्यक्रमलाई क्रमशः अन्य अन्नबाली र तरकारी बालीमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । कृषि हुने लगानीको जोखिम कम गर्न र कृषि उत्पादन बढाउन कार्यक्रम सञ्चालनमा ल्याएका भन्दै उहाँले कार्यक्रमले किसानहरूलाई राहत दिने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले किसानले कीरा, रोग र प्राकृतिक प्रकोपका कारण भोग्नुपरेको नोक्सानीलाई मध्यनजर गर्दै बाली बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो ।

गाउँपालिकाले यो कार्यक्रम वडा नम्बर ७ बाट सुरु गरेर क्रमशः ९ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । किसानलाई बिमा कम्पनीसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गर्न गाउँपालिकाले वडा कार्यालयहरूमै बिमा आवेदन लिने व्यवस्था मिलाएको छ ।
बाली बिमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ । बिमाको कुल रकमको ८० प्रतिशत सङ्घीय सरकारले अनुदान दिनेछ भने बाँकी २० प्रतिशत किसानले तिर्नुपर्ने हुन्छ । तर, गाउँपालिकाले विपन्न किसानहरूको हकमा उक्त २० प्रतिशत रकम पनि आफैँले व्यहोर्ने घोषणा गरेको छ ।




