हेटौँडा, साउन १३ गते । नेपाली कांग्रेसबाट मन्त्री बनेका बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्काले मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ ।
सिँचाईमन्त्री खड्काले मंगलबार मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाउने तयारी हुँदै गर्दा मन्त्री खड्काले राजीनामा बुझाउनुभएको हो ।
विविध कारणले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकोले राजीनामा दिएको मुख्यमन्त्री लामालाई मन्त्री खड्काले बुझाउनुभएको राजीनामा पत्रमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका लामा विरुद्ध गत शुक्रबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ताभएको थियो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले यसअघि नै पदमुक्त गरिसक्नुभएको छ ।
एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो ।




