संविधान अनुसार चल्छु, राजीनामा दिन्नः मुख्यमन्त्री

लोकप्रिय

हेटौँडा, साउन १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
उहाँले आफू संविधान, विधि र प्रक्रियाबाट मुख्यमन्त्री बनेकोले दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यकारी अवस्था नरहेको बताउनुभयो । एकल बहुमतको सरकारका लागि दलका नेता मुख्यमन्त्री हुने हो उहाँ भन्नुभयो, यो दुई दलको सरकार हो, बहुमत प्राप्त गर्ने प्रदेश सभाका ११० प्रदेश सभा सदस्यमध्ये जो पनि मुख्यमन्त्री हुन पाउने संविधानमा व्यवस्था रहेको छ ।
उहाँले गठबन्धनको सरकारमा मुख्यमन्त्री हुन दलको नेता हुनुपर्ने बाध्यता नरहेको मंगलबार आफूविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेपछि प्रदेश सभा परिसरमा पत्रकारसँग कुरा गर्दै आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।
संविधानमा गठबन्धनको सरकार बन्दा दलको नेता हुनु पर्छ भन्ने छैन उहाँको स्पष्ट  भनाई छ । उहाँले भन्नुभयो मुख्यमन्त्री फेर्नै सक्दैन, मुख्यमन्त्री हुन दलको नेता हुनुपर्छ भन्ने वैधानिक व्यवस्था छैन, राजीनामा दिनुपर्ने अवस्था छैन ।
संविधानमा कुनै दलको पूर्ण बहुमत हुँदा मात्र दलको संसदीय दलको नेता मुख्यमन्त्री हुने हो दुई वा दुईभन्दा बढी दलको गठबन्धनको सरकार बन्दा दलको नेता हुनुपर्ने बाध्यकारी व्यवस्था छैन उहाँको भनाई छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ मा प्रदेश सभा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थन प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।
यस्तै संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको मतको व्यवस्था रहेको छ । उक्त धाराको उपधारा ४ मा मुख्यमन्त्री नियुक्ति भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफलभएको एक वर्षभित्र त्यस्तो अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन भन्ने व्यस्था रहेको छ ।
लामा गत वर्ष साउन ८ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

ताजा समाचार

Related Articles