खासकुरा संवादाता
हेटौँडा, साउन २० गते । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहण आज मंगलबार हुने भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदको दाबी गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्नुभएको समय दिउँसो २ बजे सकिँदै छ ।
नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आइतबारबाट लागू हुने गरी मुख्यमन्त्रीको पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि सोमबार आव्हान गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गर्नु भएको हो ।
उक्त आव्हान गरे लगत्तै नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार दावी पेस गरिएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटासमक्ष प्रदेश सभाका दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दावी पेस गरेका हुन् ।
अर्को दाबी नपरेमा दुई ठुला दलको दाबी अनुसार कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मंगलबार दिउँसो बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने गरी तय भएको छ । मुख्यमन्त्रीको नियुक्ति र सपथसँगै मन्त्रीमण्डल गठन र मन्त्रीहरुको सपथ ग्रहण गराइने भएको छ ।
बानियाँले कांग्रेसको ३७ जना र एमालेका २७ प्रदेश सभा सदस्यसहित ६४ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशकासरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्यको बहुमत आवश्यक हुन्छ ।




