बागमती प्रदेश सभा: साढे सात वर्षपछि नयाँ भवनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २७ गते । बागमती प्रदेश सभा गठन भएर काम सुरु गरेको साढे सात वर्षपछि आफ्नै नयाँ भवन पाएको छ ।
प्रदेश सभाको पहिलो कार्यकालमा निर्माण सुरु भएको प्रदेश सभाको भवन निर्माणले दोस्रो कार्यकालको साढे दुई वर्षपछि अर्थात् भवन निर्माण सुरु भएको करिब पाँचमा पूर्णता पाएको हो ।
नवनिर्मित भवनको मंगलबार बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले उद्घाटन गर्नुभयो ।
यसअघि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले भवनको साँचो प्रदेश सभाका सभामुख पाठकलाई हस्तान्तरण गर्नुभएको थियो ।
१८ महिना निर्माण सम्पन्न गर्ने गरी  २०७७ कात्तिक १९ गतेबाट सहरी विकास तथा भवन कार्यालय, हेटौँडामार्फत प्रदेश सभाको भवन निर्माण कार्य सुरु गरिएको थियो ।
उक्त भवनको कूल निर्माण लागत १२ करोड ३३ लाख ६२ हजार ९६४ रुपियाँ रहेको छ ।
भवन उद्घाटन कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य, प्रदेशका प्रमुख सचिव, सचिवहरुलगायतको उपस्थिति रहेको थियो । प्रदेश सभाको आफ्नै भवन नभएको भन्दै प्रदेश सभा सदस्यहरुले आलोचना गर्दै आएका थिए ।
२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु भएयता बागमती प्रदेश सभाको बैठक र सचिवालय तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा सञ्चालन हुँदै आएको थियो ।
प्रदेश सभाको भवन हस्तान्तरणसँगै नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन भएको छ ।

ताजा समाचार

Related Articles