सुशासनयुक्त प्रदेश निर्माणमा लाग्ने प्रतिबद्धता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रदेश निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेश सभाको बुधबारको बैठक विशेष समयमा बोल्दै विगतका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले विपद्पछिको पुनर्निर्माण कार्यतालिका बनाएर काम गर्ने भन्दै मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री कार्यालयमा हुने खर्चमा ५० प्रतिशत कटौती गरिने बताउनुभयो ।
गरिबमुखी, जनमुखी, आयमुखी, न्यायमुखी र विकासमुखी भएर अगाडि बढ्ने भन्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिबको सरकार हो भन्ने महशुस पाउने गरी काम गर्ने बताउनुभयो ।
प्रदेश सभाको बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरु एका लाल श्रेष्ठ, कन्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, रामप्रसाद ढुङ्गाना, शान्ता ढकाल, तारानारायण श्रेष्ठ, उर्मिला सुनुवार, मायादेवी शर्मा, अमृता नेपाल, आनन्दकुमार श्रेष्ठ, ठाकुरप्रसाद ढकाल, हरिप्रसाद सापकोटा, युवराज चौलागाईँ, उद्धब थापा, रमेश महत, उद्धव थापा, वसन्तप्रसाद मानन्धर, ठुला थामी, ईश्वर सापकोटा, कृष्णप्रसाद सिलवाललगायतले विपद्पछिको पुनर्निर्माणलगायतका विषयमा बोल्नुभएको थियो । यस्तै प्रदेश सभाका सदस्यहरु यमुनादेवी श्रेष्ठ, रुकु चौलागाई, सकुन्तला श्रेष्ठ, ईन्द्रप्रसाद गोतामे, प्रभात तामाङलगायतले प्रदेशका समसामयिक समस्याका बारेमा बोल्नुभएको थियो ।
मुख्यमन्त्री बानियाँले महालेखा परीक्षकको सातौँ प्रतिवेदन २०८२ प्रदेश सभामा पेस गर्नुभयो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभएको थियो ।

 

ताजा समाचार

Related Articles