पत्रकार सौरभ यादवको हत्या प्रयासको महासंघद्वारा निन्दा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते । सप्तरीमा पत्रकार सौरभ यादवको हत्या प्रयास भएको जनाउँदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उक्त घटनाको विरोध गरेको छ ।
यादवको हत्या गर्ने कुत्सित मनसायले छुरा प्रहार भएको भन्दै उक्त घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नयाँ पत्रिका दैनिकका संवाददाता यादवमाथि साउन ३० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेट नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले शनिबार जारी प्रेस विज्ञप्तिमा यादवको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र हाल अस्पतालमा उपचार भइरहेको भन्दै यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, पत्रकारमाथिको यो जघन्य अपराधको महासंघ घोर निन्दा र भर्त्सना गर्दछौ । छुरा प्रहार गर्नेहरूलाई हालसम्म पक्राउ नगर्नु स्थानीय प्रशासनको कमजोरी भएको पत्रकार महासंघको ठहर छ । महासंघले विज्ञप्तिमार्फत दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
पत्रकार र पत्रकारिताको सुरक्षा गरी स्वतन्त्र एवं निर्भयताका साथ पेशामा लाग्ने वातावरण निर्माण गर्न पनि महासंघले सम्बद्ध निकायसँग आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles