भीमफेदीको भीमसेन जात्रा

लोकप्रिय

– सुभाषचन्द्र पौडेल भीमफेदीया
टाकडुम टाकडुम छ्याँ चा चा
टाकडुम टाकडुम छ्याँ चा चा
( त्यो सङ्गीतमय ध्वनि )
लियो लियो हा पायो पायो हा
लियो लियो हा पायो पायो हा
( सङ्केतात्मक त्यो सामूहिक आवाज )
भीमसेन महाराज कि जय
भीमसेन महाराज कि जय
टाकडुम टाकडुम छ्याँ चाचा
टाकडुम टाकडुम छ्याँ चा चा
लियो लियो हा पायो पायो हा
टाकडुम टाकडुम छ्याँ चा चा
सानैदेखि सुन्दै आएको
कुश्ले बाजागाजाको त्यो मौलिक धुन
अझै पनि यो कानमा
गुञ्जयमान भइरहन्छ
आज भीमसेन जात्रा
भीमफेदीवासीको स्थानीय ठूलो चाड
परापूर्व कालदेखि अनवरत चल्दै आएको
भीमसेन जात्रा
यो तन जहाँ भए पनि
मन भीमफेदीमै पुगेको हुन्छ
एका बिहानैदेखि
भीमसेन मन्दिरमा
पूजापाठ र दर्शनका लागि
श्रद्धालु भक्त्तजनहरूको अपार भिड
विभिन्न मिष्ठान्न र फलफूलको प्रसादी
पशुपन्छीहरूको बलि
घर-घरमा भोज
वरपर गाउँबाट आएकाहरूको
बाक्लो उपस्थिति
साँझदेखि शुरू भएको
दोहरी जुहारी गीतको रन्को
के नाबालक के युवा के वृद्धवृद्धा
सबैको चासो र सहभागिताको पर्व
आहा ! सम्झैँदा पनि यो मन मस्तिष्क
कति पुलकित हुन्छ
साँझ फेरि
भीमसेन मन्दिरबाट शुरू हुने
रथयात्रा
गह्रुङ्गो काठबाट बनेको
कलात्मक रथमा
भीमसेन महाराजको प्रतिमूर्ति राखेर
विधि विधानपूर्वक
पुनः पूजा अर्चना गरी
काँधमाथि रथ बोकेर
गाउँघरको परिक्रमा गरेको त्यो रमणीय दृश्य
हात हातमा दियालोको चिराग बोकेर
लियो लियो हा पायो पायो हा भन्दै
टाकडुम टाकडुम छ्याँ चा चा को सङ्गीत र लय सँगसँगै
रथको वरिपरि फन्को मार्दै परिक्रमा गरेको त्यो क्षण
बजारमा रहेको हालको मन्दिरबाट
मूल मन्दिर रहेको पारी बजार पुगेर
पारी बजारबाट चोक बजार हुँदै
टारगाउँ अनि छबेली घुमेर धान गोदाम
धान गोदामबाट सिमलटार हुँदै
पुनः मन्दिर फर्केर भीमसेनलाई विराजमान गराएपछि पनि
रातभर बजारमा रमाइलो गरी मनाइने
भीमसेन जात्रा
भीमसेन बास बसेकै फेदीको नामबाट
भीमफेदी नाम रहन गएको भीमफेदी
भीमसेनको आशीर्वादले नै अझै सुरक्षित छ
ऐतिहासिक महत्त्व बोकेको भीमफेदी
ऐतिहासिक वस्ती भीमफेदी
मेरो प्यारो जन्मभूमि भीमफेदी
आज भीमसेन जात्रा
म टाढाबाट सम्झिरहेछु।
जय भीमसेन महाराज
जय भीम्द्यो।

ताजा समाचार

Related Articles