निजामती सेवा विधेयक संविधान अनुकूल बनाइनुपर्नेमा जोड

लोकप्रिय

काठमाडौँ, भदौ २ गते । सङ्घीय निजामती सेवा विधेयकमा संविधान, सङ्घीयता, समानुपातिक समावेशिता र पारदर्शितामा विशेष ध्यान दिनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सबै तहका कर्मचारीहरूको वृत्ति विकासका लागि समान व्यवस्था गर्नुपर्ने, सरुवा र बढुवालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा, बढुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री न्यौपानेले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन, प्रशासनिक सङ्घीयता सुदृढ बनाउन तथा सङ्घीयता कार्यान्वयनका लागि विधेयक महत्त्वपूर्ण दस्ताबेज भएको बताउनुभयो ।

प्रतिनिधिसभाबाट पास भएको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ । विधेयकमाथि १९३ वटा बुँदामा १६ वटा समूहमा ४३ जना सांसदहरूले संशोधन प्रस्ताव राख्नुभएको छ । विधेयकमा प्रतिनिधि सभामा परितका क्रममा विवादित बनेको कुलिङ पिरियड, तल्ला तहका कर्मचारीको व्यवस्थापन, सरुवा बढुवामा पारदर्शिता, समानुपातिक समावेशिता, विधायन र प्रत्यायोजित विधेयक अनुकूल बनाइनुपर्ने लगायतका विषयमा संशोधन परेका छन् ।

ताजा समाचार

Related Articles