खासकुरा संवाददाता
हेटौँडा, भदौ ३ गते ।
अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तर्राष्ट्रिय क्युकोशिन कराते प्रतियोगितामा नेपालका लागि दुई विधामा क्रमशः स्वर्ण र कांस्य पदक विजेता सुदर्शन खतिवडालाई सम्मान गरिएको छ ।
मकवानपुर क्युकोशिन कराते संघ बालकुमारी आइकेओ युनियन, हेटौँडा हेटौँडा उपमहानगरपालिका–१८ का सुदर्शन खतिवडालाई मंगलबार हेटौँडामा नगदसहित सम्मान गरेको हो ।
संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले २५ हजार १२५ रुपियाँसहित सम्मान गर्नुभएको थियो ।
ख्तिवडा गत जुलाई २६ तारिखमा अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्शन आर्टस् च्याम्पियनसिपमा ८५ केजी तौल समुहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै फुलकन्ट्याक्ट कराते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा कांस्य पदक प्राप्त गर्न सफल हुनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु कुमार लामा , संघका उपाध्यक्ष अशोक डिमडुङ, पूर्व खेलाडी शिव नारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।




