काठमाडौँ, भदौ ३ गते । नेकपा माओवादी केन्द्रले सरकार राज्यका सबै संरचनाहरूमाथि हस्तक्षेपको प्रक्रियामा अगाडी बढेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको पदाधिकारी बैठकले सरकारका पछिल्ला क्रियाकलापहरूले जनतामा निराशा र आक्रोश बढ्दै गएको तथा अहिलेको व्यवस्थाप्रति नै असर परिरहेको विषयमा छलफल भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै सरकार देश र जनताको हित विपरीत एकपछि अर्को गलत कदमहरू चालेर अगाडी बढिरहेको विषय राख्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई हटाउने कोसिस स्वरूप सत्तापक्षले हस्ताक्षर नै गरिरहेको भन्ने खबर आएको, सरकार भूमि विधेयक मार्फत आफ्ना मान्छेहरूलाई जग्गा बाँड्ने तर्फ लागेको, शिक्षा विधेयक सदनमा ल्याउन ढिलाइ गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । बैठक पार्टी स्थायी समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्नका लागि योजना र कार्यक्रम बनाउने तथा साङ्गठनिक विषयमा गृहकार्य गर्न बैठक बसेको भए पनि विकसित राजनीतिक घटनाका कारण भोली फेरी बैठक बस्ने गरी बैठक सकिएको पनि प्रवक्ता सापकोटाले बताउनुभयो ।




