हेटौँडा, भदौ १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोको काम द्रुतगतिमा बढाउन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकनसँगै दुवै संस्थाको अवस्थाको बारेमा बिहीबार छलफलपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको आयोजना भएको बताउनुभयो ।
उहाँले गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानका विभिन्न संकाय विभिन्न स्थानमा सञ्चालन गर्नु समय र खर्चका दृष्टिले पनि उचित नभएको भन्दै एकीकृत रुपमा सञ्चालनका लागि प्रतिष्ठानको भौतिक पूर्वाधारका काम द्रुतगतिमा गर्न प्रतिष्ठान प्रशासनलाई निर्देशन दिनुभएको हो ।
प्रतिष्ठानले अस्पताल प्राक्टिकल गर्ने स्थानको रुपमा प्रयोग गर्दै आएको छ, प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि पैसाको अभावले काम रोकिदैन, पैसाको अभाव हुँदैन मुख्यमन्त्री बानियाँले भन्नुभयो, डिपिआर अनुसार काम गर्नुस्, एकीकृत रुपमा प्रतिष्ठानका संकाय र कार्यालय सञ्चालन आवश्यक छ, धेरै ठाउँमा चलाउँदा खर्च र समय बढी गएको, बचत गर्नु आवश्यक छ ।
उहाँले १० महिनोदेखि ११ महिनाभित्र छरिएर रहेका कार्यालय र सबै संकाय एकै स्थानबाट सञ्चालन गर्ने गरी तयारी गर्न र दुई सय शय्याको अस्पतालको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिँदै राजनीति सिद्धान्त, विचार फरक हो अस्पताल नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकोले काम रोक्नु नहुने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ठेक्का सम्झौता अनुसार काम भएको छैन, किन ढिलाई भएको हो, निर्माण कम्पनी वा प्रतिष्ठानका पदाधिकारी जो भएपनि पहिचान गरी स्पष्टिकर र कारबाहीको दायरामा ल्याउनु पर्छ ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानका सन्दर्भमा बिचमा केही समस्या आएकोले आयोजना कार्यान्वयनमा केही ढिलाई भएको भन्दै अब केही समस्या नरहेको, शिक्षण अस्पतालको रुपमा अगाडि बढेको र कुनै बहानाबाजी बनाएर यसको कामलाई रोक्नु हुँदैन भन्नुभयो । उहाँले प्रतिष्ठान हेटौँडाको मात्र नभएर प्रदेशको भएको नै गौरवको योजना भएको बताउनुभयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रतिष्ठानका विभिन्न संकाय नगरका विभिन्न स्थानमा छरिएर रहँदा समस्या भएको भन्दै एकीकृत गरेर सञ्चालन गर्दा सेवा प्रवाहमा सहजतासँगै प्रभावकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको र प्रतिष्ठानको पूर्वाधार निर्माणमा बजेट अभाव रहेको जानकारी गराउनुभएको थियो ।
प्रतिष्ठानका उपकूलपति डा. प्रदीप ज्ञवालीले प्रतिष्ठान स्वायत्त संस्थाको रुपमा अगाडि बढेको भन्दै प्रतिष्ठानले स्वास्थ्यका जनशक्ति उत्पादनको काम गरिरहेको बताउनुभयो ।
हेटौँडा अस्पतालको अवस्था र सेवा सुविधाका बारेमा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले जानकारी गराउनुभएको थियो ।




