मानव सेवा आश्रमले मनायो वार्षिक उत्सव

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १३ गते । मानव सेवा आश्रमको १३ औँ वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौँडा सम्पन्न भएको छ ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बागमती प्रदेश निर्माण र घोषणाका लागि गरिएको सो अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निरन्तरको प्रयासले मानवसेवा आश्रमले अहिलेका अवस्थामा पुगेको बताउनुभयो । उहाँले बागमती प्रदेशलाई मानवताको शहर बनाउन लाग्ने भन्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बागमती प्रदेश निर्माण र घोषणा गरिने बताउनुभयो ।
समाजलाई एकीकृत र टुटेका मनलाई जोड्ने काम गर्न आग्रह गर्दै मुख्यमन्त्री बानियाँले भन्नुभयो, मानव सेवा आश्रमको अभियानमा प्रदेश सरकारले सहयोग गर्ने छ ।
उहाँले मानवताको अभियानलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री बानियाँले आश्रममा आश्रित २५० सहयोगापेक्षीलाई एक दिनको दिवा भोजन सहयोग गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रामजी अधिकारीले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रदेशका सचिवज्यू, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षलगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles