खासकुरा संवाददाता
हेटौँडा, भदौ १३ गते । नेपाल शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिको आयोजनामा हेटौँडामा शुक्रबार “समसामयिक शैक्षिक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनतालाई महशुस हुने गरी प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।
उहाँले प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा दिनु आवश्यक भएको भन्दै शिक्षक पनि प्रविधिसँग अभ्यस्त हुनु आवश्यक रहेको बताउनुभयो । शिक्षा जीवनयापन गर्ने माध्यम बन्नुपर्छ उहाँले भन्नुभयो, शिक्षकको माग संघीय सरकारले सुनुवाई गर्नुपर्छ र माग पूरा गर्न प्रदेश सरकारले सहजीकरण र पहल गर्ने छ ।
उहाँले वैज्ञानिक शिक्षा प्रणाली अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।
शिक्षक सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक सिम्खडाको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे, आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी, युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
सो अवसरमा शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिले मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई नौ बुँदे सुझावपत्र पेश गरेको थियो ।
