‘भोटु वंशावली कैरन’ को लोकार्पण भयो

लोकप्रिय

काठमाडौँ, भदौ १४ गते । भोटु परिवार काठमाडौँ उपत्यका, दाजुभाइ बचत कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कृष्ण प्रधान र नारायणकुमार प्रधानद्वारा लिखित ‘भोटु वंशावली कैरन’ को लोकार्पण गरिएको छ ।
वंशावली पुस्तकको लोकार्पण गर्दै हाडा बिजुकछेँ आगम समितिका अध्यक्ष नरेन्द्र भक्त हाडाले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि विजय प्राप्त गर्दा नेवार समुदाय र हाडा परिवारहरू विविध कारणले आफ्नो थातथलो छाडेर जानुपरेको इतिहासको चर्चा गर्नुभयो । साथै, आफ्नो भाषा र पहिचानका लागि नेवार समुदाय आन्दोलनमा होमिनु परेको उहाँको भनाई छ ।
कार्यक्रमका कोषका संयोजक एवं पुस्तक लेखक कृष्ण प्रधानले भद्रसिंह भोटुका सन्तानको पाँचौँ पुस्ता आज एकै ठाउँमा उपस्थित भएकोमा खुसी लागेको भन्दै २०५५ सालमा पहिलो वंशावली निस्केपछिको यो संशोधित तथा परिमार्जित दोस्रो वंशावली तयार गर्न सत्ताइस वर्ष लागेको बताउनुभयो ।
आफ्नो जातीय पहिचान बोकेको वंशको नालीबेली भएको पुस्तक भोटु वंशावलीमा बाह्र पुस्ताका नामावली सहितको विवरण उल्लेख भएको बताइएको छ ।
उक्त वंशावलीमा बसाइँसराइ कूल, परम्परा, रीतिरिवाज र गुठी पूजाका प्रष्ट पारिएको छ ।
भक्तपुरबाट भोजपुर हुँदै पाँचथर पुगेका हाडा र श्रेष्ठहरू बसाइँसराइका क्रममा पाँचथर पुग्दा प्रधान हुन पुगेको वंशावलीमा उल्लेख गरिएको छ ।
कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले साहित्यिक विधा बाहेकको यस पुस्तकको लोकार्पण आफैँमा एउटा उपलब्धि भएको बताउँदै इतिहासको कालखण्डमा यसको छुट्टै महत्व रहने बताउनुभयो ।
त्यसैगरी,साहित्यकार ठाकुर शर्मा भण्डारीले पुस्तक प्रकाशन बारे चर्चा गर्दै हाडा र प्रधान वंशको पहिचानको रूपमा रहेको यस पुस्तकबाट समुदायको रीतिरिवाज, कुल, धर्म,पूजा र परम्परा बारे विस्तृत अध्ययन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तक लेखक नारायणकुमार प्रधान, समितिका सचिव सुदीप हाडा र दीपनारायण श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारद्वय सुभाषचन्द्र पौडेल’भीमफेदीया’ र प्रवीण जोशी, गीता हाडा, दीपनारायण श्रेष्ठ, विष्णुकुमारी प्रधान, भोजकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles