वज्रवाराहीस्थित साना किसान सहकारीको ऋण अपचलन छानविन गर्न समिति गठन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १६ गते । मकवानपुरको थाहानगरपालिका ६ वज्रवाराहीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा भएको ऋण अपचलनको बारेमा छानविन गर्न समिति गठन गरिएको छ ।
सहकारीभित्र भएको ऋण अपचलन छानविन गर्न संस्थाकै सचिव शंकर महर्जनका संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।
सहकारी संस्थाको सञ्चालक समितिको निर्णय अनुसार छानविन समिति गठन भएको र छानविनमा सहयोग गर्न समितिका संयोजक महर्जनले आग्रह गर्नुभएको छ । उहाँले एक सूचना प्रकाशित गरी संस्थाको कार्यालय परिसरमा हुलहुज्जत नगर्न आग्रह गर्दै संस्थासँग सम्बन्धमा केही बुझ्न आवश्यक भएमा संस्थाका अध्यक्ष वा सचिवसँग सम्पर्क गर्न भन्नुभएको छ ।
उता सहकारी संस्थामा ऋण अपचलन भएको सार्वजनिक भएसँगै कारोवार यकिन तथा सनाखत गर्न भन्दै गत साउनमा संस्थाले शेयर सदस्यलाई पत्राचार गरेको पाइएको छ ।
शेयर सदस्यको संस्थाको श्रेस्तामा देखाइएको हिसाव यकिन गर्न आवश्यक ठानिएकोले भन्दै शेयर सदस्यहरुलाई पत्राचार गरिएको थियो ।
सहकारीमा शेयर सदस्यले आफूले नलिएको ऋण आफ्नो नाममा देखाइएको, बचत अपचलन र अनियमिता गरेको भन्दै शेयर सदस्यहरुले आइतबार संस्थाको कार्यालय परिसरमा घेराउ र नाराबाजी गरेका थिए ।
साना किसान सहकारीपीडितहरुले बचतमा अनियमिता गरेको भन्दै नाराबाजी र घेराउ गर्दै गर्दा थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्टलगायतका जनप्रतिनिधिसमेत पुग्नुभएको थियो ।
सहकारीपीडितले सहकारीको बचत अपचलन र अनियमितता भएको भन्दै थाहा नगरपालिका वडा नं. ६ को कार्यालयमा छानविनको माग गर्दै निवेदन दिएको वडा कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles