रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते । बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरुले राजधानी जोड्ने सडक, रासायनिक मल, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले भाषा ऐन कार्यान्वयन, रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेलगायतका माग सरकारसँग राख्नुभएको थियो । साथै नेपाली भूमि लिपुलेकका सन्दर्भमा भारत र चीनबिचको सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गरेर कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सत्तापक्ष र विपक्ष दलका प्रदेश सभा सदस्यहरुले सुझाव दिएका छन्।
यस्तै, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै देवनागरी लिपिमा नम्बर प्लेट राख्नुपर्ने सुझाएका थिए ।

बैठकमा प्रदेश सभामा सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य मनोनयनको लागि गर्नु भएको प्रदेश सभाले स्वीकृत गरेको छ।
प्रदेश सभामा प्रदेश सभा सदस्यहरु ओमकुमारी श्रेष्ठ, ईश्वर सापकोटा, नुरज वज्राचार्य, प्रेमभक्त महर्जन, मदुकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, शान्त ढकाल, धनेश्वरी प्रजापति र कृष्ण सिलवालले धारणा राख्नुभएको थियो ।
प्रदेश सरकारले प्रदेश सभामा दफावार छलफलका लागि पेस गरेको चिट्ठा विधेयकमाथिको छलफललाई कार्यसूचीबाट हटाएर शून्य समय राखिएको थियो । प्रदेश सभा सभामुख पाठकले सोमबारको बैठकमा चिट्ठा विधेयकमाथिको बाँकी छलफल मंगलबार हुने जानकारी गराउनुभएको थियो । प्रदेश प्रमुखले फिर्ता पठाएको दुई वर्षपछि प्रदेश सभामा पेस भएको चिट्ठा विधेयकप्रति सत्तारुढ दल एमाले असन्तुष्टि जनाउँदै विरोध गर्दै आएको छ ।
सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles