नेपाली विषयका उत्कृष्ट विद्यार्थी सम्मानित

लोकप्रिय

हेटौँडा, भदौ २१ गते । नेपाली भाषाशिक्षक समिति मकवानपुरले कक्षा १२ को परीक्षामा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी र शिक्षकहरुलाई शनिबार सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा समितिले कक्षा १२ को अन्तिम परीक्षामा अनिवार्य नेपाली विषयमा ए प्लस ल्याउने मकवानपुरका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीलाई सम्मान गरेको हो । यस वर्षको परीक्षामा मकवानपुर जिल्लाबाट ४८ जना विद्यार्थीले अनिवार्य नेपाली विषयमा ए प्लस ल्याएर उत्तीर्ण भएका थिए । मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस, हेटौँडा स्कुल अफ मेनेजमेन्ट र भुटनदेवी माविका गरी ४८ जना विद्यार्थी र १५ जना शिक्षकलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सम्मान गर्नुभयो । कार्यक्रममा समन्वय समिति प्रमुख घलानले नेपाली भाषा विषयलाई अहिले महत्व दिन छाडेको भन्दै यस भाषाको संरक्षणमा भाषाशिक्षकले गरेको काम अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । उहाँले आफ्नो हरेक विषय शिक्षकले आफ्नो विषयको गरिमा बढाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली भाषाशिक्षक समिति मकवानपुरका अध्यक्ष ज्योति न्यौपानेले यस वर्षबाट कक्षा १२ को परीक्षामा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गर्न सुरु गरिएको बताउनुभयो । उहाँले नेपाली भाषाशिक्षणका क्रममा देखिएका समस्या समाधानका उपायका बारेमा छिट्टै अन्तरक्रिया गर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विषय शिक्षक समाज मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइँटेल, गणित विषय समाजका अध्यक्ष धनिकलाल साह, सल्लाहकारहरू रमेशमोहन अधिकारी, केशवप्रसाद सञ्जेल, हयग्रीव आचार्य, माधवप्रसाद खतिवडा, विष्णुप्रसाद गौतम, नेल्टा बाग्मती प्रदेशका पूर्व अध्यक्ष गणेश हुमागाइँलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles