खासकुरा संवाददाता
हेटौँडा, भदौ २९ गते । छात्रवृत्तिका बारेमा छलफल गर्न आएका विद्यार्थीसँगको छलफलमा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले व्यक्त गर्नुभएको भनाईले विवादमा पर्नुभएपछि लामाले माफी माग्नुभएको छ ।
जेनजीको आन्दोलनका क्रममा आफू मन दुःखाउने कार्यभएको भन्दै नगरप्रमुख लामाले माफी माग्नुभएको हो ।
नगरप्रमुख लामाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ गते जेनजीको आन्दोलनका क्रममा आफ्ना गुनासोहरू राख्नका उपमहानगरपालिकाको परिसरमा आएका विद्यार्थीहरूसँग कुराकानी गर्ने सन्दर्भमा उनीहरुको मन दुःखाएको प्रति क्षमयाचना गर्नुभएको हो ।
आन्दोलनका क्रममा विद्यार्थी छात्रवृत्तिका विषयलाई लिएर भेट्न पुगेका विद्यार्थीहरुलाई नगरप्रमुख नगर प्रमुख लामाले विभेदपूर्ण व्यवहार गरेको भन्दै आक्रोशित युवा विद्यार्थीले भदौ २४ गते आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
नगरप्रमुख लामाले मुलुकभरका विद्यार्थी आफ्नो उच्च शिक्षाका लागि चिन्तित हुनु परेको अवस्थामा उहाँहरूले पनि हेटौँडामा अवस्थित क्याम्पसहरूमा छात्रवृत्तिको जायज माग राख्नु स्वभाविक भएको भन्दै विज्ञप्तिमा भन्नुभएको छ, ठूलो समूहमा आउनुभएका विद्यार्थी भाइबहिनीहरूसँग कुराकानी गर्ने सन्दर्भमा उहाँहरूको मन दुःखाएको आभास भएछ । यसप्रति उहाँहरूसँग म माफी माग्न चाहन्छु ।
उहाँले आफूले पनि व्यक्तिगत रूपमा पढ्न चाहने हरेक तहका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको स्पष्ट पार्नुभएको छ ।
नियम कानूनको प्रसङ्ग आउँदा मैले गरेका कुराहरूलाई मेरा छोराछोरीजस्ता भाइबहिनीले गलत ढंगबाट नबुझी दिन विनम्र अनुरोध गर्दछु उहाँले विज्ञप्तिमार्फत आग्रह गनुभएको छ ।




