बागमती प्रदेशका १४ मध्ये छ मन्त्रालयका भवन आगजनीबाट जोगिए

लोकप्रिय

हेटौँडा, असोज ६ गते । प्रदेश राजधानीसमेत रहेको हेटौँडामा रहेका प्रादेशिक संरचनाहरु गत भदौ २४ गते भएको जेनजी समुहको प्रदर्शनीका क्रममा प्रदर्शनकारीको निसानामा परेको छ ।
बागमती प्रदेश सरकारका १४ मन्त्रालयमध्ये छ वटा मन्त्रालयका भवन आगजनीबाट जोगिएका छन् ।
हेटौँडा उपमहानगरपालिका २ मा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित छ वटा मन्त्रालय भवन आगजनी र तोडफोडबाट जोगिएको हो ।
आगजनी र तोडफोडबाट प्रदेशका आठ वटा मन्त्रालय रहेका भवनसँगै उपकरणमा क्षति पुगेको छ । तीमध्ये छ वटा मन्त्रालयका भवनबाट साविककै अवस्थामा तत्काल काम गर्ने अवस्था छैन ।
हेटौँडा २ मा नै रहेको प्रदेशको वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सुरक्षा दिने क्रममा जोगिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका सवारी साधनमा आगजनीबाट क्षति भएपनि भवनमा भएको क्षति सामान्य छ ।
यस्तै, हेटौँडा ४ मा रहेको संस्कृति तथा पर्यटन मन्त्रालय र हेटौँडा ६ स्थित गौरीटार रंगशाला परिसरमा रहेको प्रदेशको युवा तथा खेलकुद मन्त्रालय पनि जेनजी (युवा पुस्ता) को प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुनबाट बचेको छ ।
युवा तथा खेलकुद मन्त्रालय शहरी क्षेत्रभन्दा टाडा रहेकोले जोगिएको हो ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय केही समयअघि मात्र नयाँ घरमा सरेको र कर्मचारीहरुले मन्त्रालयमा क्षति हुन नदिन सतर्कता र सचेतता अपनाएका कारण पनि आगजनी र तोडफोडको घटना हुन पाएन ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी सरकारी भवनहरु लक्षित गरी आक्रमणको घटना हुन थालेको जानकारीमा आएपछि पहिले नै सतर्कता अपनाएका कारण क्षति हुनबाट जोगिएको बताउनुहुन्छ ।
सरकारी संरचनामा आगजनी र तोडफोडको घटना हुन थालेको जानकारी पायौँ उहाँले भन्नुभयो, त्यसको लगत्तै मन्त्रालयको साइन बोर्ड हटाइयो, मन्त्रालयका सवारी साधनहरु निजी घरहरुमा सुरक्षित रुपमा राख्न लगाएर भवनमा ताल्चा लगाएपछि आगजनी र तोडफोडको घटना हुनबबाट जोगियो । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय भाडाको घरमा बस्दै आएको छ ।
हेटौँडा २ मा रहेको प्रदेशको मुख्यमन्त्री कार्यालय जाने मार्गमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एउटा कोठामा प्रदर्शनीकारीले आगजनी र तोडफोड गरेका छन् । यस मन्त्रालयको स्टोर बाहेकका अन्यत्र रहेका अधिकांश कागजात सुरक्षित रहेको छ ।
यस्तै हेटौँडा १० मा एउटै भवनमा रहेको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय पनि प्रदर्शनकारीको निशानामा पर्दा आगजनी र तोडफोडबाट क्षति पुगेको छ । यी दुवै मन्त्रालयका कागजातसमेत जलेर नष्टभएको छ ।
हेटौँडा १ मा एउटै भवनमा रहेको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार र यातायात मन्त्रालयमा आगजनी र तोडफोड गरिएको छ ।
यी चार मन्त्रालयमध्ये श्रम, रोजगार र यातायात मन्त्रालयमा कम क्षति पुगेको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कार्यालयका अधिकांश उपकरणदेखि कागजात जलेर खरानीभएका छन् । कतिपय सामाग्री प्रदर्शनकारीहरुले लिएर गएका छन् ।
यसैगरी हेटौँडा ११ मा रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालयको भवनमा प्रदर्शनकारीहरुले क्षति पु¥याएका छन् । सहकारी, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयमा गरिएको आगजनी र तोडफोडबाट मन्त्रालयका कागजातहरुसमेत जलेर नष्ट भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगजनी र तोडफोडबाट प्रदेशका मन्त्रालयहरुका सवारी साधन, कार्यालय उपकरण र भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।
उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि तुलनात्मक रुपमा कम क्षति भएको भन्दै मन्त्रालयका कागजात र उपकरणहरु सुरक्षित रहेको र सवारी साधनमा आगजनी गरिएको बताउनुभयो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले प्रदेशका मन्त्रालय, निकाय र कार्यालयहरुमा प्रदर्शनीका क्रममा गरिएको तोडफोड र आगजनीको क्षतिको विवरण संकलन गरिरहेको छ ।
कार्यदलको सदस्यहरूमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी रहनुभएको छ । मन्त्री तामाङले क्षतिको मूल्यांकन तथा पुनर्निर्माणको कार्य अगाडि बढाउन सरकारले उच्चस्तरीय समिति गठन गरी विवरण संकलन सुरु गरिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारका भौतिक संरचनामा भएको क्षतिको अध्ययन र विश्लेषण गरी पुनर्निर्माण र सञ्चालनको सम्भावना, अनुमानित लागतसहित प्रतिवेदन पेस भएपछि मर्मत र पुननिर्माणको काम अगाडि बढाइने बताउनुभयो ।

ताजा समाचार

Related Articles