छेपाराहरू,
कति सजिलै बदलिन्छन
मौसम अनुकुल ।।
पात अनुसार
डाँठ अनुसार
बोक्रा अनुसार
फूल अनुसार
सजिलै रंग बदल्न
अभ्यस्त छेपाराहरू
बदलिन्छन
मौसम बदलिएसंगै ।।
छेपाराहरू,
सबै जाने जस्तो,
केहि नजानेजस्तो
सबै देखे जस्तो,
केहि नदेखे जस्तो
सबै सुनेजस्तो,
केहि नसुने जस्तो
सबै गरे जस्तो,
केहि नगरेजस्तो
बोलेजस्तो, मौन बसेजस्तो
कलाहिन अभिनय गर्छन
र भ्रम छर्छन
हुट्टिट्याउले सगर थामेको
अनि मौका कुरेर बस्छन
फेरी रंग बदल्न।।
विचारहिन, विवेकहिन
जातहिन, धर्महिन
कर्महिन, शर्महिन
मतिहिन, गतिहिन
स्वनामधन्य
रंगिन/रंगहिन छेपाराहरू
अहो!
कति सजिलै सक्छन
रंग बदल्न
मौसम अनुसार ।। – गोवन्द रिजाल
