काठमाडौँ, असोज १० गते । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम सुरु गरेको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ । आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ । नेपाल सरकारका सहसचिवलगायत आवश्यक कर्मचारी सरकारले उपलब्ध गराएको छ ।




