काठमाडौँ, असोज १६ गते । यस वर्षको बडा दशैंको दशौं दिन विजयादशमी आज आफ्ना मान्यजनबाट टीका जमरा ग्रहण गरी मनाइदै छ ।विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११ बजे र ५३ मिनेटमा रहेको भएपनि दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोले आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु भएको हो । दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनु शुभ हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको सम्झनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । यद्यपि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ । बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ ।

यसैबीच नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् ।
