खासकुरा संवाददाता
हेटौँडा, असोज १८ गते । बाढीपहिरोको जोखिम बढेसँगै हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । हेटौँडा हुँदै काठमाडौँ जाने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा शनिबारबाट तीन दिनका लागि पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भारी वर्षा तथा अति वर्षाका कारण उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण गर्न तीन दिनका लागि अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिनुभयो । सो अवधिमा सुरक्षित साथ घरमानै बस्न मकवानपुर प्रशासनले भनेको छ ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, हेटौँडा–भैँसे–फाखेल–फर्पिङ सडक, हेटौँडा–भैँसे–दक्षिणकाली–फर्पिङ सडक हेटौँडा–भैँसे–मातातीर्थ सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न दिएको छैन । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।
