हेटौँडा, असोज २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गत भदौमा भएको जेनजी समुहको आन्दोलन अपहरणमा पर्दा मुलुक यथास्थितिबाटै अगाडि बढ्ने सम्भावना बढेको बताउनुभएको छ ।
उहाँले जेनजी आन्दोलनले ल्याएको परिवर्तनबाट उत्साहित थियौ भन्दै त्यसपछिको चलखेल र सहमतिपछि परिवर्तनको ढोका बन्द भएको बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष थापाले सोमबार हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै ठुला दलहरुको भ्रष्टाचार र कुशासनका कारण अहिलेको अवस्था आएको बताउनुभयो ।
उहाँले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा सकारात्मक भएपनि यथास्थितिको प्रणालीमा कसैको पनि बहुमत नआउने भन्दै निर्वाचन र प्रणाली र शासकीय स्वरुपमा परिवर्तन आवश्यक भएको बताउनुभयो ।
जेनजीको आन्दोलनले परिवर्तनको ढोका खुलेको छ, वास्तविक परिवर्तन हुने आशा र विश्वास थियो उहाँले भन्नुभयो, तर जेनजीको आन्दोलन अपहरण गरियो, यथास्थितिलाई स्वीकार गरेर अगाडि बढ्ने काम भएको छ ।
देशी विदेशी तत्व र असफल भईसकेको संघीय लोकतन्त्रका पक्षधरको मिलेमतोमा भदौ २४ गते मध्यरातिबाट जुन उत्साह र परिवर्तनको सम्भावना थियो त्यसको ढोका बन्द भएको उहाँको भनाई छ ।
उहाँले अगाडि भन्नुभयो, परिवर्तनको सम्भावना टरेर जान लागेको छ, भ्रष्टाचार र कुशासनको अन्त्य हुन्छ भन्ने अब प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।
उहाँले स्वार्थसमुहको हिंसाका कारण आगजनी र तोडफोड भएको भन्दै नेपालको इतिहासमा अकल्पनीय घटना भएको बताउनुभयो ।
गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन राति १० बजे प्रमुख ठूला दलका प्रमुख नेताले आफूलाई फोन गरेर तपाईंले पहल गरेर राजसंस्था पुनस्र्थापना गर्नुपर्यो निकै अनुनय गरेको स्मरण गर्दै अध्यक्ष थापाले अहिलेको सुशीला कार्कीको सरकारले जेनजीको आन्दोलनको मर्म र भावना तथा जनआदेश विपरीत भ्रष्टतन्त्रलाई ब्युताउने र पुरानै प्रमुख दलहरूलाई स्थापित गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले विदेशीको चरम हस्तक्षेपले देशको राष्ट्रियता ,सार्वभौमसत्ता र अखण्डता खतरामा रहेको बताउनुभयो ।
देशलाई विदेशी हस्तक्षेपबाट बचाउन असफल राष्ट्र हुनबाट बचाउन राजसंस्थासहितको प्रजातन्त्र ,हिन्दुराष्ट्र स्थापना गरेर स्थिर, बलियो सरकार र सबल स्थानीय सरकार बनाउन सम्पूर्ण राष्ट्रवादी दलहरूबिच एकता र सहकार्य गरेर राष्ट्रिय मुद्दाहरु कार्यान्वयन गर्न अघि बढनुको विकल्प छैन उहाँले भन्नुभयो ।
उहाँले देशमा शासकीय स्वरुपमा सुधार गर्न निर्वाचन प्रणाली ,संवैधानिक अंगहरुमा नियुक्ति प्रणाली ,न्याय क्षेत्रमा नियुक्ति प्रणालीमा व्यापक सुधार गर्नु आवश्यक रहेको बताउनुभयो ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले राप्रप्पा नेपाल निर्वाचन लक्षित भएर अगाडि बढ्ने भन्दै राप्रपा नेपालको सबैभन्दा ठुलो शक्ति इमानदारिता भएको बताउनुभयो ।
उहाँले देशमा बलियो राष्ट्रवादी शक्ति आवश्यक भएको भन्दै युवाको परिवर्तनको भावनालाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । भेला राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।
