प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न

लोकप्रिय

चितवन, कात्तिक २ गते । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “स्मृतिकुन्ज” पुस्तक समेत विमोचन गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारवाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि संचालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३७७ जना प्रशिक्षार्थी दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles