सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

लोकप्रिय

जनकपुरधाम, कात्तिक ११ गते। गृहमन्त्री ओम प्रकाश अर्यालले अगामी फागुन २१ गतेको चुनाव सफल बनाउन सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

महोत्तरी जिल्लाको बर्दिबासमा अवस्थित सशस्त्र प्रहरी बल नंं २ छिन्नमस्ता बाहिनीमा आज आयोजित सुरक्षा बैठकमा उहाँले निर्वाचन सफल बनाउनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भएकाले उच्च मनोबलसहित सुरक्षा रणनीति व्यवस्थापनमा जुट्न निर्देशन दिनुभयो ।

उहाँले जेन्जी पुस्ताको आन्दोलनको मर्म पुरा गर्न सुशासन तथा सुरक्षा महत्वपूर्ण विषय भएकाले वर्तमान सरकार सुरक्षाप्रति अत्यन्तै संवेदनशील रहेको बताउनुभयो । उहाँले मधेश प्रदेश सुरक्षाको दृष्टिकोणले संवेदनशील प्रदेश भएको बताउँदै मधेशको संवेदनशीलतालाई ख्याल गरेर प्रदेशमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री अर्यालले सुदृढ सुरक्षा व्यवस्था बनाउन सुरक्षा निकायलाई चाहिने हरेक प्रकारका सेवा, सुविधा प्रदान गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले अहिले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य भएको र अधिकांश राजनीतिक दल चुनावप्रति सकारात्मक भएकाले अब चुनावको माहोल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव, धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरीका नायव सशस्त्र प्रहरी महानिरीक्षक, चारै जिल्लाका नेपाल प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles