काठमाडौँ, , कात्तिक १७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग बुधवार सुरु हुने भएको छ ।

एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काँक्रेविहार युथ क्लब (सुर्खेत), नव जनजागृति (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौँ), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की छन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा हुने प्रतियोगिता मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । सेमिफाइनलका चार टोलीले राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।




