खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १८ गते । प्रहरीले सुनका गहना र रेडियो चोरी मुद्दाका फरार एक व्यक्तिलाई ४७ वर्षपछि पक्राउ गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ स्थित कल्लेरीका नकबजनी चोरी मुद्दाका फरार लालबहादुर रानालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

२०३५ साल वैशाख १५ गते रातको समयमा जिल्ला स्याङ्जा, साविक पेलाकोट गाउँपञ्चायत वडा नं. २ हाल गल्याङ नगरपालिका वडा नं. ७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको घटनामा संलग्न लालबहादुरलाई नकबजनी चोरी कसूरमा २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले कैद तथा जरिवाना गर्ने आदेश दिएको थियो ।

मुद्दा फैसला भई फरार रहेका लालबहादुरलाई वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कैद तथा जरिवाना भुक्तान लागि स्याङ्जा जिल्ला अदालतमा लालबहादुरलाई उपस्थित गराएकोमा जिल्ला कारागार, स्याङ्जा चलान गरिएको छ ।
लालबहादुरले एक महिना १५ कैद तथा चार हजार पाँच सय रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।




