प्रभास घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना

लोकप्रिय

हेटौँडा, कात्तिक २२ गते । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा चौतारीका संस्थापक सदस्य प्रभास घिमिरेको प्रथम स्मृति दिवसको सन्दर्भमा ’प्रभास घिमिरे: सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लोकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रम’ हेटौँडामा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ४ न. वडाका वडाध्यक्ष नवीन सिग्देल, वडा न. ११ की वडाध्यक्ष जुना दाहाल र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ट आतिथ्यता रहेको थियो । स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापनाका सन्दर्भबारे चौतारीका केन्द्रीय संरक्षक दीपक गौतमले प्रकाश पार्नुभएको कार्यक्रममा संप्रस पौडेलले प्रभासका रचना सङ्कलन, सम्पादन तथा सिस्नुपानी नेपाल मकवानपुरका कार्यक्रममा प्रभासको प्रस्तुतिबारे चर्चा गर्नुभएको थियो ।

त्यस्तै डा. निमेष निखिलले स्मृति ग्रन्थबारे टिप्पणी प्रस्तुत तथा जनार्दन खनाल, डिबी बर्ताैला, कृतिका लौडारी, स्वस्तिका दाहाल, रचना भण्डारी, प्रबिना प्रयासी, स्वस्तिका बानियाँ, सुन्दर कँडेललगायतले स्मृतिग्रन्थभित्रका प्रभासका कविता, गजल, मुक्तक, हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, वडाध्यक्षद्वय नवीन सिग्देल र जुना दाहालले अक्षयकोष स्थापनामा सहयोगको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाका तर्फबाट करिब एक लाख बराबरको रकम सङ्कलन भएको संस्थाकी अध्यक्ष लौडारीले जानकारी दिनुभयो ।

नवसर्जक चौतारीका संस्थापक सदस्य रहेका २१ वर्षे प्रभासको गत वर्ष २०८१ कात्तिक २१ गते भारतको वृन्दावन जाने क्रममा सवारी दुर्घटनामा लखनउमा निधन भएको थियो । छन्द कविता लेखन तथा वाचन, हास्यव्यङ्ग्य लेखन तथा प्रहसन एवम् धार्मिक कार्यक्रममा प्रवचनका क्षेत्रका उदीयमान प्रतिभा घिमिरेको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापना अभियानको सुरु गरिएको चौतारीका संरक्षक गौतमले बताउनुभयो ।

ताजा समाचार

Related Articles