हेटौँडा, कात्तिक २४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ७ स्थित कोगटेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ ।
भीमफेदी गाउँपालिका वडा नं. ७ स्थित कोगटेमा एक करोड ४६ लाख रुपियाँको लागतमा कोगटे स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

नवनिर्मित कोगटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणले स्थानीयको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले स्वास्थ्य चौकी निर्माणसँगै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, गाउँपालिकाका इन्जिनियर मनिष सुवेदी, कोगटे स्वास्थ्य चौकीका इन्चार्ज रत्नेश्वरी प्रजापतिलगायतले कोगटे क्षेत्रको स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा बोल्नुभएको थियो ।

नवनिर्मित छ कोठे कोगटे स्वास्थ्य चौकी भवनमा जनरल वार्ड, सुत्केरी वार्ड, प्रशासनिक कक्ष, शौचालयलगायतका सुविधाको व्यवस्था गरिएको छ ।




