काठमाडौँ, कात्तिक २७ गते। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी छन् । आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताउनुभयो ।

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो । सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदै छ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सभाको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखको मत भार १८ हुन्छ ।




