खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २७ गते । मकवानपुरको भीमफेदीस्थित कारगारबाट फरार भएका मकवानपुरको बकैयाँ गाउँपालिका एक कैदीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजीको प्रदर्शनको क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरबाट पर्खाल भत्काई फरार कैदी मकवानपुरको बकैया गाउँपालिका ६ घर भएका विष्णुलाल थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । फरार लागुऔषध मुद्दाका कैदी २५ वर्षीय थिङलाई काठमाडौँको कागेश्वरी मनोहरा ६ ग्रीनहिलसिटीबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यस्तै भदौमा भएको प्रदर्शनको क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ घर भएको वर्ष ३२ को सुजन रसाइलीलाई काठमाडौँ महानगरपालिका ६ आरुबारी सिमलटारबाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार निज दुवै जनामाथि आवश्यक कारबाही भइरहेको छ ।

साथै मकवानपुर प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका चोरी मुद्दाका हेटौँडा उपमहानगरपालिका १३ का विजय श्रेष्ठलाई बिहीबार पक्राउ गरी कैद भुक्तानका लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कर्मीले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले लागूऔषध मुद्दाका फरार रहेका हेटौँडा उपमहानगरपालिका ४ का अनिस तामाङलाई पक्राउ गरी पुर्पक्षका थुनामा राख्न भीमफेदी कारागार पठाएको छ ।




