भक्तपुर, कात्तिक २८ गते । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काँग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै सर्वसम्मति वा अधिकतम सहमतिमा महाधिवेशनको मिति तय गरेर एक भएर जानुपर्ने बताउनुभएको छ । काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३ औँ पूर्ण बैठक एवं प्रदेश सभा संसदीय दलको संयुक्त बैठक आज भक्तपुरको नगरकोटमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

काँग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कायकर्तामा अन्योैलता छाएको उहाँले बताउनुभयो । काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको उहाँले बताउनुभयो ।

काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिँदै काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरूको भेला भक्तपुरमै गर्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा संयोजक कृष्णलाल भडेलले महाधिवेशनमा जानु अगाडि पार्टी भित्रका सबै विवादलाई टुङ्गाएर जानुपर्ने बताउनुभयो । बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरू, गरि १८० जनाको सहभागिता रहेको छ ।




