हेटौँडा, कात्तिक ३० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि तयारीलाई तीव्र बनाइएको छ ।
मकवानपुरमा मतदान स्थलको नाम संशोधन र परिवर्तनका लागि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले दुई स्थानमा मतदान स्थलको नाम संशोधन र एउटा मतदान स्थलको नाम परिवर्तन गर्ने निर्णय गरेको बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ मोरङ्गेस्थित मतदानस्थल रहेको सरस्वती प्राविबाट मावि भएकोले सरस्वती मावि मतदान स्थल र बकैया गाउँपालिका ७ स्थित मतदानस्थल माटोकोरी माविबाट आधारभूत विद्यालयमा परिवर्तन भएकोले दुवै मतदान स्थलको नाम संशोधन गरिएको छ ।

यस्तै थाहा नगरपालिका ३ स्थित आधारभूत आधारभूत केन्द्रमा मतदानस्थल रहेकोमा उक्त विद्यालय एकीकरण भएकोले सो मतदान स्थलको नाम परिवर्तन गरी थाहा शीत भण्डार कायम गर्ने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आयोगमा सिफारिश गर्ने निर्णय गरेको प्रदेश निर्वाचन अधिकारी ढकालले सुनाउनुभयो । मतदाताको सङ्ख्यामा वृद्धि भएसँगै मतदान केन्द्रको सङ्ख्या बढ्ने छ । मकवानपुर जिल्लामा १६७ मतदान स्थल रहेका छन् ।

यसैबिच निर्वाचनको पूर्व तयारीका क्रममा निर्वाचन कार्यालयका कर्मचारीहरुले शनिबार समेत बिदा पाएनन् ।
बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा अन्य दिनहरुमा जस्तै शनिबार पनि कर्मचारीहरु बिहानैबाट मतदाता नामावली दर्ता, ठाउँसारी, विवरण सच्याउनेलगायतका काममा व्यस्त रहेका थिए ।
प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी ढकालले आयोगको निर्णय अनुसार शनिबार पनि नयाँ मतदाता नामावली दर्तालगायतका निर्वाचन तयारीका कामहरु भएको जानकारी दिनुभयो ।
उहाँले यसअघि मतदाता रहेका मतदाताको ठाउँसारी र मतदाता नामावलीको विवरणमा समस्या भएर निवेदन दिएकाहरुको छिनोफानो गर्ने काम शनिबार पनि भएको बताउनुभयो ।
उहाँका अनुसार शनिबार समेत ४४ जना नयाँ मतदाताको मतदाता नामावलीका लागि दर्ता गरिएको छ ।
गत शुक्रबारसम्ममा मकवानपुरमा पाँच हजार ८७४ नयाँ मतदाता नामावली दर्ता भएको छ ।




