जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना प्रदेशसभा सदस्यहरुले उपसभामुख बबिता राउत ईसरलाई आज ज्ञापनपत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको बेलामा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक बोलाउन माग गरेका हुन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षर सहित उपसभामुख राउतलाई माग पत्र हस्तान्तरण गर्दै पर्सी ३ गते बुधवार प्रदेश सभाको बैठक बोलाउनका लागि माग गर्नु भएको हो । प्रदेश सभा नियमावली अनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनु पर्ने कानूनी प्रावधान रहेको छ । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलका विरुद्धमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउका लागि सात दलबाट माग भएको छ ।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको विपक्षी दलका नेताहरूले जनाएका छन् । प्रदेशसभा बैठक बोलाउनका लागि माग गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी रहेका छन् । यसैबीच कर्मचारीहरू माथि सभामुखको चर्को दवाव रहेको कारणले सचिव सहितका अधिकांश कर्मचारीहरू बाहिर रहेका छन् । यसै बीच एक जना कर्मचारीले आफूहरूलाई सुरक्षा दिएको खण्डमा बैठक बोलाउने बताउनु भयो ।




