काठमाडौँ, मङ्सिर ३ गते । एनपिएलको डे–नाइट खेल हेरेर फर्कन दर्शकका लागि नि:शुल्क बसको ब्यवस्था गरिएको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिविको तल्लो गेट र ल्याब स्कुलको अगाडिबाट बिभिन्न रुटमा नि:शुल्क बसको ब्यवस्था गरेको हो ।

क्रिकेट खेल हेरेर फर्किने महिला, वृद्ध र अशक्तहरुको सेवाका लागि बेलुकी ६ बजेदेखि आठ बजेसम्म बसको ब्यवस्था गरिएको छ । क्यानले बस सेवा सञ्चालन गर्नको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरेको छ । बुधबारदेखि सुरु भएको नि:शुल्क बस सेवा फाइनल खेलको दिनसम्म हुनेछ । रुट एकको नि:शुल्क बस त्रिवि गेटबाट सुरु भई स्वयम्भू हुँदै बालाजु पुग्नेछ ।

यस्तै रुट दुईको त्रिवि गेटबाट सुरु भई स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म, रुट तीनको बस त्रिवि गेटबाट सुरु भई बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला हुँदै चाबहिलसम्म र रुट चारको बस त्रिवि गेटबाट सुरु भई बल्खु र सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।




