वीरगञ्ज, मङ्सिर ४ गते । जेनजी समूहको प्रदर्शनको कारण सिमरा क्षेत्र आज पनि तनावपूर्ण बनेसँगै जिल्ला प्रशासन कार्यालय बाराले फेरी कर्फ्यु आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले जारी गरेको कफ्र्यू आदेशमा वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधवार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबिच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानीय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबिचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठुलो सङ्ख्यामा युवाको उपस्थिति रहेको छ । सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ । झडपमा दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको थियो ।

‘जेनजी समूहको हिजोको प्रदर्शनको नेतृत्व गरेका हरूसँगको समझदारीअनुसार प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको भए पनि आज फेरी प्रदर्शन नरोकिएपछि सडक खुलाउने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीले बताउनुभयो । हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ । प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन् । प्रदर्शन र कफ्र्यू घोषणा पछि पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सञ्चालित यातायात ठप्प भएको छ भने आज बिहानै देखि बाराको सिमरा जितपुर बजार त्यस क्षेत्रका शैक्षिक संस्थाहरू समेत बन्द गरिएको छ । 




