मकवानपुर, मङ्सिर ९ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्र यातायात सेवामा सुधार ल्याउन अध्ययन गर्न समिति गठन गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा मङ्गलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समिति गठन तथा समितिको कार्यक्षेत्रगत शर्त स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले प्रदेशभित्रका छ वटा सामुदायिक क्याम्पस बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्री तामाङले मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय, हेटौँडाको आङ्गिक क्याम्पसको रुपमा प्रचलित कानुन अनुसार छ वटा क्याम्पसलाई सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गरेको जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले इन्जिनियरिङ सेवाका ११ औँ तहका घनश्याम कार्कीलाई अनिवार्य अवकास पाउने गरी निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।




