बकैयाको सुकौराखोलामा पक्की पुल निर्माण सुरु

लोकप्रिय

बकैया (मकवानपुर), मंसिर १० गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ स्थित कर्मचुली र वडा नं. ६ जुइना जोड्ने गरी सुकौरा खोलामा पक्की पुल निर्माण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार एक कार्यक्रमका बिच मल्टिसेल बक्स पुलको शिलान्यास गर्नुभयो ।

बागमती प्रदेश सरकारको छ करोड ८९ लाख ४९ हजार ७ ५४ रुपियाँ लागतमा १२० मिटर लम्बाईको पुल निर्माण हुनेभएको हो । बिन्ध्याचल निर्माण सेवा कम्पनीले गत असार ८ गते आगामी २०८४ असार ७ गतेसम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेको छ ।
मुख्यमन्त्री बानियाँले समयमा नै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै संघीयताले गरिबलाई सम्पन्न बनाउने जिकिर गर्नुभयो ।
देश संघीयतामा गएपछि विकासले गति लिएको उहाँको भनाई छ । उहाँले युवा पुस्ताको मागलाई सम्बोधन गर्दै भ्रष्टाचारमुक्त गर्दै सुशासनयुक्त समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री डा.दिनेश चन्द्र देवकोटाले पुल समयमा नै निर्माण सम्पन्न हुने भन्दै आर्थिक, सामाजिक रुपान्तरणको लागि उत्पादनसँग जोड्नु आवश्यक रहेको धारणा रहेको छ ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पुल निर्माण भएपछि स्थानीय आठ सय घरधुरी लाभान्वित हुने भन्दै पुल नहुँदा बकैया गाउँपालिका वडा नं. ६ का विद्याार्थीहरुलाई वर्षाको समयमा विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको बताउनुभयो ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखेलगायतको उपस्थिति थियो ।

ताजा समाचार

Related Articles