हेटौँडा, मंसिर १२ गते । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न मकवानपुरमा शनिबार निर्वाचन हुने भएको छ ।
मकवानपुरबाट महाधिवेशनका लागि प्रतिनिधिका लागि ८१ जनाको उम्मेदवारी परेको छ । यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि मकवानपुरको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट गरी १७ जना प्रतिनिधि चयन हुने छन् ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट ३० जनाले खुलातर्फ, नौ जनाले महिला तथा १० जनाले युवातर्फ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै संघीय निर्वाचन २ बाट १६ जनाले खुलातर्फ, १० जनाले महिलातर्फ र छ जनाले युवातर्फ उम्मेदवारी दर्ता गराएको एमाले मकवानपुरको निर्वाचन कमिटीले प्रारम्भिक उम्मेदवारको नाममावली सार्वजनिक गरेको छ ।
आज शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन तालिका रहेको छ ।

राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरको दुवै निर्वाचन क्षेत्रबाट चार–चार जना खुला, तीन–तीन जना महिला र युवा एक–एक जना गरी १६ जना र जिल्लाभरबाट एक जना दलित प्रतिनिधि निर्वाचित हुने छन् । सहमित नजुटेमा महाधिवेशन प्रतिनिधिका लागि शनिबार निर्वाचन हुने छ ।




